फागुन १९, मंगलबार
मध्यपूर्वको युद्धका करण विश्वभर ठूलो सङ्ख्यामा हवाई उडानहरू रद्द भएका छन् । कोभिड–१९ महामारीपछि पहिलो पटक यति ठूलो सङ्ख्यामा उडानहरू रद्द भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मध्यपूर्वका प्रमुख विमानस्थलहरू बन्द हुँदा लाखौँ यात्रु अलपत्र परेका रोयटर्सले जनाएको छ । इमिरेट्स, एथाड एअवेज, कतार एअरवेज जस्ता खाडी क्षेत्रका प्रमुख एअरलाइन्सहरूले आफ्ना धेरैजसो नियमित उडान स्थगित गरेका छन् ।
विश्वकै व्यस्त अन्तर्राष्ट्रिय ट्रान्जिट हबमध्ये दुबई अन्तर्राष्ट्रिय विमानस्थल लगातार तेस्रो दिन बन्द छ । आबुधाबी र दोहाका विमानस्थलहरू पनि आंशिक रूपमा बन्द भएका छन् ।
हवाई उड्डयनसम्बन्धी अनलाइन फ्लाइटरडारका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल, जायद अन्तर्राष्ट्रिय विमानस्थल, शारजाह अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, बहराइन अन्तर्राष्ट्रिय विमानस्थल र अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएका छन् ।शनिवार १ हजार ४ सय, आइतवार ३ हजार ४ सय, हिजो ३ हजार ४ सय र आज बिहानसम्म १ हजार ३ सय उडान रद्द भएका छन् । शनिवादेखि आजसम्म साढे ९ हजारभन्दा धेरै उडान रद्द भएका फ्लाइटरडारले जनाएको छ । उडान रद्दका कारण १५ लाखभन्दा धेरै यात्रु प्रभावित भएका अनुमान छ ।
इरान, इराक, कुवेत, इजरायल, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स यूएईको आकाश झन्डै खाली देखिएको फ्लाइटराडरले जनाएको छ । भारत, युरोप र उत्तर अमेरिकातर्फका उडानहरू समेत प्रभावित भएका छन् ।