फागुन २, शनिबार
पोखरा– आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । आयरल्याण्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान १८ ओभरमा एक सय ३९ रन बनाउँदा अलआउट भयो ।
ओमानका आमिर कलीमले ५० र हमाद मिर्जाले ४६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आयरल्याण्डका जोश लिटिलले ३ विकेट लिए । त्यसअघि श्रीलङ्काको कोलम्बोमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले ५ विकेट गुमाएर २ सय ३५ बनायो ।
आयरल्याण्डका कप्तान लोर्कन टकरले अविजित ९४ रन र ग्यारेथ डेलानीले ५६ रन बनाए । ओमानका शकील अहमदले ३ विकेट लिए । यो जीतसँगै आयरल्यान्डले २ अङ्क जोडेको छ । यस्तै अहिले इंग्ल्याण्ड र स्कटल्याण्डले भारतको इडेन गार्डेन्समा खेलिरहेका छन् । इंग्ल्याण्डले टस जितेर बलिङ गरिरहेको छ ।
आजै बेलुका सवा ७ बजे न्युजिल्याण्ड र दक्षिण अफ्रिकाले अहमदावादमा खेल्देछन् । नेपालले आफ्नो तेस्रो खेल भोलि बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग खेल्नेछ । यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले समूह चरणको आफ्नो अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । यसअघि हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी भएका छन् । अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले, यूएईले क्यानडालाई ५ विकेटले र जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हराएको हो ।