सभामुख र उपाध्यक्ष चयनको लागि चुनावी कार्यतालिका सार्वजनिक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २०, शुक्रबार 
पोखरा ।  सङ्घीय संसद् सचिवालयले पर्सि आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना मनोनयन संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ः ३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ । 
दर्ता भएका प्रस्तावका सूचनालाई पर्सि आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरिसकेको छ ।

त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको चुनाव सोमाबार हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पर्सि आइतबार दिउँसो २ः ३० बजेदेखि ३ः ३० बजेसम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ । दिउँसो ४ बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने सोमबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ ।  
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।