राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिवलाई नियुक्त गर्ने प्रधानमन्त्रीको निर्णय विवादमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत २, सोमबार 
पोखरा– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ । यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् । जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि तत्कालीन सरकारले झैँ गलत नजिर स्थापित गरेको टिप्पणी गर्नुभएको छ ।
यस्तै पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्रीले आफ्नै प्रमुख स्वकीय सचिवलाई नियुक्ति गर्नु गलत भएको बताउनुभएको छ । पुनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाउने भए त्यो पद नलिन श्रेष्ठलाई आग्रहसमेत गर्नुभएको छ । यस्तै किसिमको नातावाद र कृपावादले पुराना दलहरू खत्तम भएका र यही पाराले काम गर्ने हो भने नयाँ दलहरूको पनि उस्तै हविगत हुने उहाँको टिप्पणी छ । कोषका संरक्षकसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हिजो आफ्नै स्वकीय सचिव श्रेष्ठलाई आउँदो ५ वर्षका लागि कोषको अध्यक्षमा मनोनित गर्नुभएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।