रामेछापमा बस दुर्घटनाः ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २७, मंगलबार
पोखरा – रामेछापको सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत भएको छ । ज्यान गुमाउनेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाः केशवसिंह धामीले जानकारी दिनुभयो । ज्यान गुमाएका दुई जनाको सनाखत हुन बाँकी छ ।

रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार बस दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटमा रहेको शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बसका बाँकी यात्रुको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार सडकबाट तल तामाकोशी नदीमा खसेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।