पश्चिम एसिया द्वन्द्वः १ नेपालीको मृत्यु, १७ घाइते, ५ पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत्र २, सोमवार 
पोखरा । 
पश्चिम एसियामा जारी युद्धका कारण घाइते हुने नेपालीको संख्या १७ पुगेको छ। इराकमा दुई जना नेपाली घाइते भएका छन्। उनीहरूको नाम र ठेगाना खुलाइएको छैन। परराष्ट्र मन्त्रालयका अनुसार इराकको बगदादमा नेपाली श्रमिक बसेको घरमा बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्। इरानले पश्चिम एसियाका अमेरिकी सैन्य केन्द्रलाई निसाना बनाउने क्रममा इराकका पनि आक्रमण गर्दै आएको छ।
हालसम्म एक जनाको मृत्यु भइसकेको छ। यस्तै युद्धको बारेमा भिडियो बनाएको तथा अनर्गल प्रचार गरेको कसुरमा पाँच नेपाली पक्राउ परेका छन्। संयुक्त अरब इमिरेट्समा दुई, साउदी अरेबियामा दुई तथा कुवेतमा एक जनालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ।

परराष्ट मन्त्रालयले सम्बन्धित देशका कानुन र सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। पक्राउ परेका नेपालीलाई जरिवाना, जेल र देश निकालासम्म कारबाही हुनसक्नेछ।  यस्तै परराष्ट्रले कुवेतमा ४० महिलालाई सुरक्षित सेल्टरमा राखिएको जनाएको छ। हालसम्म ७२ हजार २ सय ३५ जनाले सम्बन्धित मुलुकस्थित दूतावासका वेबसाइटमा नाम दर्ता गराएका छन्। तीमध्ये पाँच हजारले जोखिममा रहेको जनाएकाले उनीहरूको उद्धारका लागि समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।  
परराष्ट्र मन्त्रालयले अति जरूरी परेका नेपाली श्रमिकलाई साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गर्ने जनाएको छ। 
ओमान, कतार, कुवेत, बहराईन र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई साउदी अरब जान भिसा सहजीकरण गरिने भएको छ। साउदी अरेबियाबाट सीमित उडान भइरहेकाले त्यहाँबाट यात्रा गर्न सकिने जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।