फागुन २७, बुधबार
पा्ेखरा– पश्चिम एशिया ९मध्यपूर्व०मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र अहिलेसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरु कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालले अन्य श्रम गन्तव्य देशहरुसँग पनि समन्वय गरिरहेको पनि जानकारी दिनुभयो । भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका धेरै श्रमिक पठाउने देशका दुतावास र मिसनहरूसँग नेपाली राजदुत र कन्सुल जनरलहरुले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताउनुभयो । सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने प्रश्नको जवाफ दिँदै सचिव राईले सरकार आफ्नो नागरिकको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्नुभयो । कुनै विकल्प नभएको खण्डमा सरकारले जुनसुकै हालतमा पनि उद्धार गर्ने परराष्ट्र मन्त्रालयका सचिव राईको भनाइ छ ।