प्रतिनिधिसभा विघटनविरुद्धको रिटः तारिख चुनावको भोलिपल्टलाई तोकियो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ९,  शनिबार 
पोखरा– प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ । त्यसको अघिल्लो दिन २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । ती रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले साधारण तारिख मात्रै तोकेको हो ।
संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गएको कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक ७ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेश भइसकेको छ ।

त्यसैगरी, सर्वोच्च अदालतको गएको पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो । अहिलेसम्म यी रिटमा प्रारम्भिक सुनुवाई मात्रै भएको छ । फागुन २१ को चुनावपछि यी रिटहरुको औचित्य सकिनेछ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।