चैत ४, बुधबार
पोखरा– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मिटर बक्सको अभावले स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरण र महाकुलुङ गाउँपालिकाको संयुक्त लगानीमा दुई वर्ष अगाडि नै राष्ट्रिय प्रसारण लाइन विस्तार भइसक्दा पनि मिटर बक्सको अभावले स्थानीयवासी बिजुलीको सुविधाबाट टाढा रहन बाध्य छन् ।
झन्डै तीन हजार घरधुरी उपभोक्ता रहेको पालिकामा कार्यपालिकाले सामुदायिक ग्रामीण विद्युतीकरण वितरक संस्था गठन गरी झन्डै एक हजार नौ सय वटा मिटर जडान गरेको छ । तर अझै पनि सबै उपभोक्तालाई मिटर बक्स उपलब्ध गराउन नसकेको वडा नम्बर १ का अध्यक्ष पर्खिधन राईले जानकारी दिनुभयो ।
प्राधिकरणको सब–स्टेशन रहेको सोलुखुम्बुको तिङ्लाबाट झन्डै ८३ किलोमिटर टाढा रहेको वितरण केन्द्रमा पालिकाले पाँच जना कर्मचारी राखेको छ ।प्राधिकरणबाट साढे तीन लाख महसुल उठ्दा उपभोक्ताबाट एक लाख ७० हजार रुपैयाँमात्रै सङ्कलन भइरहेको छ । यसले गर्दा कर्मचारीहरूले चार महिनादेखि तलब पाएका छैनन् । सबै उपभोक्ताकोमा मिटर जडान नहुनु र कतिपय उपभोक्ताले लघुजलविद्युत् प्रयोग गरिरहेका कारण महसुल पूरा नउठेको हो ।
वडाअध्यक्ष पर्खिधन राईका अनुसार विद्युत् मिटरका लागि नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सल्लेरीलगायत प्रदेश कार्यालय विराटनगरमा लिखित माग गर्दासमेत उपलब्ध भएको छैन । वडा नम्बर ३ ले सात सय ३६ वटा मिटरबक्सको रकम बुझाएकोमा प्राधिकरणले एक सय वटामात्रै उपलब्ध गराएको छ । अहिले क्षेत्रीय कार्यालयबाट मिटरबक्स नपाएकै कारण उपलब्ध गराउन नसकेको नेपाल विद्युत् प्राधिकरण सल्लेरी शाखाका प्रमुख लालबहादुर लम्सालले बताउनुभयो । क्षेत्रीय कार्यालयले पनि मिटरबक्स उपलब्ध नरहेको जनाएको छ ।
प्राधिकरणको कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख जनकप्रसाद दाहालले ग्लोबल टेन्डरमार्फत मिटरबक्स ल्याउनुपर्ने व्यवस्थाअनुसार अहिले आपूर्ति नभएकाले समस्या भएको बताउनुभयो । मिटरबक्स आउने क्रमममा रहेकोले अबको एक महिनामा समस्या समाधान हुने उहाँको विश्वास छ । निमित्त प्रमुख दाहालले महाकुलुङ मात्र नभई अन्यत्रबाट पनि मिटरबक्सको माग भइरहेको तर दिन नसकेको बताउनुभयो । मिटरबक्स नहुँदा विद्युत् चोरी नियन्त्रणको काममासमेत समस्या आएको उहाँको भनाइ छ ।