फागुन ४ गते सोमवार
पोखरा ।
पोखरा महानगरपालिकाले विद्यालय तथा कलेजका बस चालकले मादक पदार्थ सेवन मापसे गरे, नगरेको विषयमा कडा चेकजाँच गर्ने भएको छ । महानगरका प्रमुख धनराज आचार्यले सोमबार साँझ एक सूचना जारी गर्दै भोलि मंगलबारदेखि महानगरभित्रका सबै शैक्षिक संस्थाका सवारी चालकको मापसे परीक्षण गरिने जानकारी दिनुभएको हो ।
महानगरले विद्यार्थी बोक्ने सवारी साधनमा चालकको लापरवाही बढेको गुनासो आएपछि कारबाही प्रक्रियालाई कडा बनाएको हो । प्रमुख आचार्यका अनुसार मंगलबारदेखि सुरु हुने चेकिङमा यदि कुनै चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । चालकको गल्तीमा सम्बन्धित शैक्षिक संस्थालाई समेत जिम्मेवार बनाउने उद्देश्यले महानगरले जरिवानाको व्यवस्था गरेको छ । मापसे गरेको भेटिएमा सम्बन्धित विद्यालय वा कलेजलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने प्रमुख आचार्यले बताउनुभयो ।
महानगरले पटक–पटक नियम उल्लंघन गर्ने चालक र संस्थालाई अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ । सूचनामा उल्लेख भएअनुसार नियम उल्लंघन दोहोरिएमा स्पष्टीकरण सोधिनेछ र चालकको सवारी अनुमति पत्र लाइसेन्स समेत निलम्बन गर्न सकिनेछ ।
पछिल्लो समय विद्यालयका सवारी साधन सञ्चालनमा लापरवाही देखिएको र यसले विद्यार्थीको सुरक्षामा जोखिम बढाएको भन्दै महानगरले यो कदम चालेको हो । यस विषयमा गम्भीर आक्रोश व्यक्त गर्दै प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ , लापरबाहीको पनि सीमा हुन्छ । प्रधानाध्यापक रप्रिन्सिपलज्यूहरू गम्भीर हुनुहोला ।
पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले विद्यार्थीको सुरक्षाजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न सबै शैक्षिक संस्थाका प्रमुखलाई सचेत गराएका छन् । यो नियम फागुन ५ गते मंगलबारदेखि कडाइका साथ लागू हुने महानगरले जनाएको छ ।