नवयुवा आन्दोलनमा भएको क्षतिलाई पुनर्निर्माण गर्ने कार्ययोजना सार्वजनिक

तीन तहका सरकारले बजेट छुट्याउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत ४, बुधबार 
पोखरा – गएको भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनले भौतिक तथा आर्थिक क्षति पुगेकोमा सरकारले त्यसको पुनर्निर्माण र पुनर्व्यवस्थानका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाः प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुनर्निर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थानसम्मका विषयलाई समेटेको छ । साथै चालू आर्थिक वर्ष र आउँदो दुई आर्थिक वर्षमा तीन वटै तहका सरकारले पुननिर्माणका लागि बजेट विनियोजन गर्नेगरी कार्ययोजना तयार पारिएको छ ।

आयोगले पुनर्निर्माण कार्यलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ । तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीतिका आधारमा कार्य अगाडि बढाइने कार्ययोजनामा उल्लेख छ । तीनै तहका सरकारले आफ्नै स्रोतबाट पुनर्निर्माण अघि बढाउने, अपुग भएमा सङ्घीय सरकारले सहयोग गर्ने नीति तय गरिएको छ । साथै, निजी क्षेत्र र गैरसरकारी संस्थासँग सहकार्य गर्दै समन्वयात्मक ढङ्गले पुनर्निर्माण अघि बढाउने रणनीति छ ।

राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डाः दिबाकर लुइटेलका अनुसार कार्ययोजनामा सेवाग्राहीमैत्री, मितव्ययी र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड गरिएको छ । सङ्घीय सरकारका लागि चालू आर्थिक वर्षमा झन्डै ४ अर्ब ३४ करोड आवश्यक पर्ने देखिएको छ भने अबका दुई आर्थिक वर्षमा हरेक वर्ष १० अर्ब १८ करोडका दरले बजेट छुट्याउनुपर्ने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारका लागि चालू वर्षमा झन्डै ८१ करोड २५ लाख र अबका दुई वर्षमा हरेक वर्ष १ अर्ब ४६ करोड आवश्यक पर्नेछ । पालिकाका लागि चालू वर्षमा १ अर्ब ४२ करोड र आउँदो दुई वर्षमा हरेक वर्ष तीन अर्ब २१ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । साथै, सबै सरकारी सम्पत्तिको अनिवार्य बीमा गर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

सरकारले पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन खर्च व्यवस्थापनमा कडाइ गर्ने नीति लिएको छ । साना, टुक्रे र प्रभावहीन आयोजना कटौती गर्ने, तीन करोडभन्दा कम लागतका आयोजना सङ्घीय सरकारले नगर्ने र त्यस्ता कार्यक्रम प्रदेश तथा पालिकामा हस्तान्तरण गर्ने नीति लिइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।