मतदान अधिकृत बर्खास्त


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २०, बुधवार 
पोखरा ।  बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ। बागलुङ–२ अन्तर्गतको गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो। 
ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत रहनुभएका गैरेले निर्वाचन अधिकृतको जिम्मेवारी अनुसार काम गर्न नसक्ने भन्दै जिम्मेवारी खोसिएको छ।
मतदान अधिकृतहरुको व्हाट्सएप समूहमा उनले लेखेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको बागलुङ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिनुभयो । 
मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ। गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको सुवेदीले जानकारी दिनुभयो । 
मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयबागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ। गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रुपमा खटाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।