फागुन १२, मंगलवार
पोखरा ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ ।
महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमवार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् ।
साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनु भयो ।
पछिल्लो सात सातादेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाको उपचार प्रक्रियाको गाम्भीर्यतालाई बुझ्दै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय लिएको जनाएको छ । केएमसीले आफूसँग उत्कृष्ट र अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति रहेको भन्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सक्षम रहेको दाबी समेत गरेको छ ।