फागुन २५, सोमबार
पोखरा– अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा हिजो तालाबन्दी गरेको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले तालाबन्दी हुँदा ‘ए’ डिभिजन लिग समयमै गर्न असम्भव देखिएको जनाएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको एन्फले जनाएको छ । निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिनालगत्तै ‘ए’ डिभिजन लिग शुरू गर्न एन्फा पूर्ण रूपमा प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसैले खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिएको तर्क छ । यसैबीच खेलाडी संघको मागअनुसार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकटबापत केहि रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिवद्ध रहेको एन्फाले जनाएको छ ।
यस्तै वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकिएको एन्फाको तर्क छ । १ हजार दिनभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ‘ए’ डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषबारे जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशि लगायतका माग राख्दै खेलाडी संघले हिजो एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो ।