कांग्रेस सभापति थापालाई हराउँदै सर्लाही ४ मा रास्वपाका अमरेश सिंह विजयी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २४,  आइतबार 
पोखरा – प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउनुभएको हो । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउनुभयो । शुरूमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा शुरू गर्नुभएका सिंह पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लाग्नुभएको थियो ।
२०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उहाँ सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ सालको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिएर फेरि विजयी हुनुभएको थियो । काठमाण्डौ ४ बाट चुनाव जित्दै आउनुभएका थापा पहिलो पटक मधेशबाट उम्मेदवारी दिनुभएको थियो । २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बन्नुभएको थियो । दोस्रो संविधान सभामा काठमाण्डौ ४ बाट विजयी हुनुभएका उहाँ २०७४ र २०७९ सालको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी हुनुभयो । २०७० सालमा उहाँ स्वास्थ्य मन्त्री बन्नुभएको थियो । 
तेस्रो भएका एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याउनुभएको छ । १ लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।