फागुन ८,शुक्रवार ।
पोखरा । गण्डकी प्रदेशका विभिन्न राजमार्ग र जिल्लाहरूमा माघ महिनामा भएका सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार यो अवधिमा नियम उल्लंघन गर्नेहरूबाट १ करोड ११ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार माघ महिनामा ४६ वटा सवारी दुर्घटना भएका छन्, जसमा ६३ वटा सवारी साधन संलग्न थिए । दुर्घटनामा ११ पुरुष, ५ महिला, ३ बालक र २ बालिका गरी २१ जनाको मृत्यु भएको छ । यस्तै ५९ जना घाइते भएका छन्, जसमा ४७ जनाको अवस्था गम्भीर र १२ जनाको सामान्य छ । प्रहरीले दुर्घटनामा परेका ४६ जनाको उद्धार गरेको छ ।
दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा बढी चालकको लापरबाही देखिएको छ । ३५ वटा दुर्घटना चालकको कारणले भएका छन्, जसमा तीव्र गति ९२६ वटा र मादक पदार्थ सेवन ६ वटा मुख्य छन् । यसबाहेक यान्त्रिक गडबडीका कारण ३, हतारमा बाटो काट्दा १ र सडकको अवस्था तथा मौसमका कारण २ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ ।ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ६ सय ४६ वटा सवारी साधनलाई कारबाही गरी १ करोड ११ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डिएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।यो अवधिमा ३ हजार ८७ सवारी साधनको विशेष चेकजाँच र विभिन्न राजमार्गमा १५ पटक गस्ती गरिएको छ ।
प्रहरीले माघ महिनामा २ हजार ४ सय ६२ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी ९४ हजार ९ सय ३१ जनालाई लाभान्वित गराएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भर्ना भएका १ हजार ४४ जना निर्वाचन प्रहरीलाई समेत ट्राफिक सचेतना कक्षा प्रदान गरिएको डिएसपी सुवेदीले बताउनुभयो ।