फागुन २५, सोमबार
पोखरा – प्रतिनिधि सभा चुनावअन्तर्गत धनुषा १ को उम्मेदवारी खारेजबारे विवादमा सर्वोच्च अदालतले आउँदो शुक्रवार दुवै पक्षलाई छलफलमा डाकेको छ । उम्मेदवारी खारेजीमा परेका रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेश गरेको रिट निवेदनमाथि आउँदो शुक्रवार सुनुवाइ गर्ने आदेश भएको हो ।
दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै अदालतले शुक्रवार दुवै पक्षलाई छलफलका लागि डाकेको छ । त्यही दिन निर्वाचन आयोगले समेत साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित फाइल पेश गर्नुपर्नेछ ।
आज न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रवार सुनुवाई गर्ने आदेश जारी गरेको हो । अब शुक्रवार निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबिच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुनेछ ।
आयोगले मतदान अघि नै साहको उम्मेदवारी खारेज गर्दै रास्वपाको चुनाव चिन्ह् घण्टीमा परेका मतको छुटै लगत राखेर बाँकी मतबाट विजयी घोषणा गर्ने आदेश दिए पनि गणनाका क्रममा बदर गरिएका उम्मेदवारकै पक्षमा बढी मत देखिएपछि अदालतको आदेश अघि अन्तिम परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।