फागुन २६, मंगलबार
पोखरा – प्रतिनिधिसभा सदस्य चुनावमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेका बेला कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
धनुषा–१ मा नेकपाका मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गर्नुभएको छ ।
यसअघि धनुषा–१ मा रास्वपा किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो । यो निर्णयविरुद्ध साह सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्चले हिजो यस रिटमा सुनुवाइ गर्दै आउँदो शुक्रवारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।