फागुन ११, सोमवार
पोखरा ।
गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ। धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा आइतबार राति बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। नेशनल अस्पताल र ट्रमा सेन्टरमा २५ जना घाइतेलाई उपचार भइरहेको छ र एक जनाको उपचार क्रममा मृत्यु भएको छ। दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनुभयो ।
दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।