चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १२, मंगलबार 
पोखरा– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले विज्ञप्ति निकालेर दल वा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्‍याली वा यस्तै अन्य गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।
दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा १० को खण्ड ट मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्थासमेत रहेको आयोगले स्मरण गराएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।