आईसीसी टी–२० विश्वकपः नामिबियालाई हराउँदै पाकिस्तान ‘सुपर–एट’ मा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन ६, बुधबार 
पोखरा – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो ।
पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले १७ ओभर ३ बलमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै २३ रन बनाए । पाकिस्तानका उसमान तारिकले ४, शदाब खानले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन जोडे । नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।

फरहान प्रतियोगितामा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि क्यानडाका युवराज सम्रा र श्रीलङ्काका पथुम निसान्काले शतक बनाएका थिए ।
योसँगै ‘सुपर–एट’ समीकरण पूरा भएको छ । यसअघि समूह ‘ए’ भारत ‘सुपर–एट’ मा पुगेको थियो । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’ दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।

यस्तै आज भएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई हराउँदै दक्षिण अफ्रिकाले लगातार चौथो जीत हासिल गरेको छ । प्रतियोगितामा आजै बेलुका सवा ७ बजे भारत र नेदरल्यान्ड्स खेल्दैछन् ।

‘सुपर–एट’ का खेलहरू आउँदो शनिवारदेखि शुरू हुनेछन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहनेछन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।