आहा रारा आजदेखि, आयोजक र हङकङ गोर्खा भिड्ने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ।
पोखरा रंगशालामा आजदेखि २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता हुँदै छ । सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र हङकङको गार्खा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोलि जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

माघ २९ गते नेपाल एपिएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब खेल्ने छन् भने फागुन १ गते फ्रेण्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ । फागुन २ गतेदेखि क्वार्टर फाइनलका खेलहरु सुरु हुने छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन ६ गते र दोस्रो सेमिफाइनल फागुन ७ गते हुनेछ ।

फाइनल खेल फागुन ९ गते हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु सन्ध्याकालीन समयमा फ्लड लाइटको माध्यमबाट खेलाइने भएकाले पोखरेली दर्शकका लागि यो विशेष आकर्षण बन्ने विश्वास लिइएको छ ।प्रतियोगितामा ३ विदेशी क्लबसहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष थापाले जानकारी दिए । उनले रजत वर्षलाई लक्ष्य गरी यस वर्ष सन्ध्याकालीन फुटबल खेलाउन फ्लड लाइटमा खेल हुने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ ।प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ बापत १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । दर्शकहरुलाई समेत प्रोत्साहित गर्न प्रत्येक म्याचको भाग्यशाली दर्शकलाई ५ हजार रुपैयाँ र ‘फ्यान अफ दि म्याच’ लाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकट दरसमेत तय गरेको छ । सिजनल टिकटको १ हजार २ सय रुपैयाँ तोकिएको छ भने जर्सी सहितको टिकट ३ हजार रुपैयाँ र जर्सीमात्र खरिद गर्दा २ हजार रुपैयाँ लाग्नेछ ।

साधारण प्यारापिट तर्फका खेलका लागि प्रि–क्वार्टर र क्वार्टर फाइनलमा पश्चिमतर्फ २ सय र अन्यतर्फ १ सय रुपैयाँ शुल्क लाग्नेछ । सेमिफाइनलमा पश्चिम प्यारापिटको ३ सय र अन्यको २ सय रुपैयाँ तथा फाइनल खेलका लागि ५ सय र ३ सय रुपैयाँ टिकट दर कायम गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।